“Your Health in Your Hands”
HEALTH AWARENESS PROGRAMME ON CORONA VIRUS DISEASE Organized by : HOLY CHILD SCHOOL, BAGLUNG
Supported by : CONCERN NEPAL
अभिभावकले जान्नु पर्ने कुरा – COVID19 नोभल कोरोना भाइरस: जनचेतनामूलक संदेश
कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा
आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने‘
नोभल’ कोरोना भाइरस के हो?
नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।
कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।
कोभिड-१९ कसरी फैलिन्छ?
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ।
कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड-१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोनाभाइरसका लक्षणहरू के के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।
यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ। त्यसकारण कसैलाई कोभिड-१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नकालागि परिक्षण नै गर्नुपर्ने हुन्छ। यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालको प्रयोग गर्नु र त्यसपश्चात उक्त कागजी-रुमाललाई बन्द फोहोरदानीमा फाल्नु)।
संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु?
संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न चार उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ:
1. नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्।
2. खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
3. रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
4. आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्।
के मैले (स्वास्थ्यकर्मीहरूले लगाउने) मास्क लगाउनु पर्दछ?
यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्नुहोस्। अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन।
मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ। मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ – जस्तै: नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्युँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने।
के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ?
यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन। यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ। हालसम्म कोभिड-१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।
मेरा बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?
कोभिड-१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् – खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ।
नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुहोस् ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस्।
आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस्।
परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।
के मैले मेरा छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ?
यदि तपाईंका बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानुहोस्।
यदि तपाईंका बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ।
बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुहोस्, जस्तै: नियमित रुपमा हात धुने (विस्तृत विधि तल हेर्नुहोस्), खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि।
हात धुने उत्तम तरिका के हो?
- बगिरहेको पानीमा हात भिजाउने,
- भिजेको हातमा मनग्गे साबुन लगाउने,
- हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
- बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
- सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।
नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि।
यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस्।